काठमाडौं । चर्चित प्रगतिशील साहित्यकार तथा लेखक शरद पौडेललाई यस वर्षको ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ।
नेपाल सहभागीमूलक कार्य समूह (नेपान)ले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष विकास प्रधान पत्रिकाका प्रधानसम्पादकसमेत रहेका पौडेललाई प्रदान गर्ने निर्णय गरेको हो।

पौडेलले नेपालको विकास प्रक्रियाका विभिन्न आयामबारे लामो समयदेखि लेखन तथा अनुसन्धानमार्फत योगदान पुर्याउँदै आएका छन्।
साहित्य क्षेत्रमा पनि सक्रिय पौडेलका ‘लिखे’ र ‘तपन’ लगायतका उपन्यास र विकाससम्बन्धी अनुसन्धानात्मक पुस्तकहरू समेत प्रकाशित छन्।
विशेषगरी जनमुखी विकास, तराई–मधेसको विकास, दलित उत्थानलगायत विषयमा
सिर्जनामार्फत उनले नेपाली समाजका विविध पक्षलाई उजागर गर्दै आएका छन्।
नेपानको ३२औँ वार्षिक साधारणसभाको अवसरमा आगामी असोज २४ गते उक्त पुरस्कार प्रदान गरिने पुरस्कार संस्थापक डा. चेतनाथ कणेलले जानकारी दिए।
अमेरिकामा स्नातक तहमा अध्ययनरत रहेका आफ्ना छोरा प्रसिद्ध कणेलको असामयिक निधनपछि उनका बुवा डा. चेतनाथ कणेल र आमा सीता भण्डारी कणेलले प्रसिद्धको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन्।
यसअघि ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ गम्भीरबहादुर हाडा, डा. मानबहादुर विश्वकर्मा, प्रा.डा. नरविक्रम थापा, डा. चण्डीप्रसाद चापागाईं, डा. अरुणा उप्रेती, सोमत घिमिरे र सुलोचना मानन्धरलाई प्रदान गरिसकिएको छ।





