काठमाडौं । माया बसेको मन टाढा भएर के भो र, सम्झनामा त प्रिय व्यक्ति सधैँ नजिकै हुन्छ। भेट्ने चाहना, मायालु नजर र दूरीबीच गहिरिँदै गएको प्रेमको भाव बोकेको गीत ‘हाम्रो त घरै टाढा छ’ गायक सुरज पण्डित र गायिका शान्तिश्री परियारको स्वरमा सार्वजनिक भएको छ।
सोल्टासोल्टिनीबीचको ठट्यौली, मायालु संवाद र गाउँले परिवेशको प्रेमकथालाई गीतले सरल तथा आत्मीय शैलीमा प्रस्तुत गरेको छ। प्रिय व्यक्तिको मुस्कानमा जून देख्नु, उसको नजरमा हराउनु र मनभरि उसकै नाम सजाउनुजस्ता भावले गीतलाई प्रेमिल बनाएका छन्।

नेपाली संगीतमा आफ्नै पहिचान बनाएका सुरज पण्डित सामाजिक यथार्थ र मौलिक विषयवस्तुलाई गीतमार्फत प्रस्तुत गर्ने गायक तथा संगीतकार हुन्। उनको चर्चित गीत ‘रेलको बाटो’ ले कर्णालीको जनजीवन र विकासको सवाललाई सांगीतिक रूपमा उठाएको थियो। त्यस्तै, गायिका शान्तिश्री परियार ‘बोल माया’, ‘गलबन्दी’ र ‘रुकुम मैकोट’ जस्ता चर्चित गीतमार्फत श्रोतामाझ परिचित छिन्। दुवै कलाकारको सहकार्यमा आएको ‘हाम्रो त घरै टाढा छ’ ले भने ग्रामीण प्रेमको मिठासलाई केन्द्रमा राखेको छ।
सहरमा जस्तो सहज भेटघाट गर्न नसकिने गाउँले जीवन, टाढा रहेका घर र भेट्ने प्रतीक्षाबीच पनि प्रेम कसरी गाढा बन्छ भन्ने कथा गीतले बोकेको छ। स्थानीय बोलीचाली, ग्रामीण जीवनशैली र मौलिक लोकलयको संयोजनले गीतलाई नेपाली गाउँघरको प्रेमकथासँग नजिक बनाएको छ।
गीतमा प्रतिमा अधिकारी र सुरज पण्डितको शब्द तथा सुरज पण्डितकै संगीत रहेको छ। कुशल सिंह निएलले संगीत संयोजन गरेका छन् भने समूह गायनमा सुनिता बीके, बिन्दु बीसी र पावेन्द्र सुनारले साथ दिएका छन्।
‘हाम्रो त घरै टाढा छ’ ले दूरीले भेटघाट कठिन बनाए पनि मनको आत्मीयता र प्रेमको गहिराइलाई कमजोर बनाउन सक्दैन भन्ने भाव प्रस्तुत गर्छ।
🎵 गीत हेर्न तथा सुन्नुहोस्:





