बागलुङ । अमर क्षेत्री फाउन्डेसनले बागलुङ र पर्वतका ३१ जना विपन्न तथा सीमान्तकृत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
फाउन्डेसनको सहयोगमा बागलुङको रामरेखा, बडिगाड र पर्वतको कुश्मा क्षेत्रका बालबालिकालाई जाडो मौसमबाट जोगाउन न्यानो कपडा प्रदान गरिएको हो । यसै क्रममा बागलुङस्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई एक कार्यक्रमका बीच कपडा हस्तान्तरण गरिएको छ ।
फाउन्डेसनकी बागलुङ प्रतिनिधि सरस्वती हरिजनले अपाङ्गता भएका, दलित तथा माझी समुदायका बालबालिकालाई ती सामग्री हस्तान्तरण गर्नुभयो । चिसो मौसममा विपन्न परिवारले न्यानो कपडा जुटाउन नसक्दा बालबालिकाको पठनपाठनमा पर्ने असर कम गर्न र उनीहरूलाई पढाइमा हौसला थप्न यो सहयोग गरिएको प्रतिनिधि हरिजनले बताउनुभयो ।

कार्यक्रममा बोल्दै रामरेखा आधारभूत विद्यालयकी प्रधानाध्यापक सिर्जना शर्माले विद्यालयमा अति विपन्न वर्गका बालबालिका अध्ययन गर्ने भएकाले फाउन्डेसनको सहयोगले ठूलो राहत मिलेको उल्लेख गर्नुभयो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुमित्रा शर्मा, शिक्षक विष्णुराज पौडेललगायतले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको मानवीय सहयोगको प्रशंसा गर्नुभएको थियो ।
काठमाडौँको वालुवाटार घर भई अमेरिका बस्दै आएका अमर क्षेत्रीले ससुराबुबा सुरेन्द्रनाथ अधिकारीको स्मृतिमा स्थापना गरेको यो फाउन्डेसनबाट न्यानो कपडा वितरण गरेको हो । फाउन्डेसनले हरेक वर्ष बालबालिका, अपाङ्गता भएका व्यक्ति र दलित समुदायको उत्थानमा सहयोग गर्दै आएको छ ।
यसअघि पनि फाउन्डेसनले शैक्षिक सामग्री, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री वितरण गर्नुका साथै बाढीपहिरो पीडित र आर्थिक अभावले पढाइमा समस्या भोगेका विद्यार्थीहरूलाई निरन्तर सहयोग पुर्याउँदै आएको छ ।




