शनिबार , कार्तिक १५, २०८३

प्रेम रोज्ने कि करिअर ? देशमै संघर्ष गर्ने कि विदेशमा भविष्य खोज्ने ? अनि कसैलाई माया गर्दा आफ्नै सपना र पहिचानलाई कसरी जोगाउने? आजको युवा पुस्ता यही दोधार र अनिर्णयको भूमरीमा छ। सामाजिक सञ्जालको कृत्रिम चमकधमकले युवालाई आफ्नै जीवनसँग असन्तुष्ट बनाइरहेको छ भने सम्बन्धहरू झन्झन् जटिल र संवेदनशील बन्दै गइरहेका छन्।

यही बदलिँदो युवा मनोविज्ञान, प्रेममा हुने अस्तित्वको संकट र आत्मसम्मानको खोजीलाई केन्द्रमा राखेर लेखिएको उपन्यास हो— ‘ब्लुम’ (Bloom)।  रोचक कुरा त के छ भने, यसकी लेखिका स्मारिका आफैँ पनि युवा पुस्ताको यही गतिशील यात्राकी एक प्रतिनिधि पात्र हुन्। दाङमा रहेर पत्रकारिता गर्दागर्दै समाजका कथा बटुलेकी उनी हाल जापानमा सूचना प्रविधि (आईटी) अध्ययन गर्दै छिन्। कोडिङ र प्रविधिको व्यस्त दैनिकीबीच पनि साहित्यिक संवेदनालाई जीवित राख्दै उनले आफ्नो पहिलो कृतिका रूपमा ‘ब्लुम’ पाठकमाझ ल्याएकी हुन्।

प्रस्तुत छ, प्रेममा आफूलाई रित्याउने युवा पुस्ताको मनोविज्ञान, प्रवासको संघर्ष र ‘ब्लुम’ उपन्यासको सेरोफेरोमा रहेर सारङ्गी न्युजका लागि सम्पादक प्रकाश अधिकारीले लेखिका स्मारिकासँग गरेको १२ सवाल–जवाफ :

 

१. प्रेममा असफल भएर करिअर रोज्ने कि करिअर बनाउने नाममा प्रेमबाट भाग्ने—आजको युवा पुस्ता वास्तवमै कुन द्वन्द्वमा छ?
स्मारिका:मेरो विचारमा प्रेम र करिअरमध्ये एउटा रोज्नुभन्दा पनि दुवैका बीचमा आफ्नो पहिचान जोगाउनु आजको मुख्य चुनौती हो। प्रेम र करिअर एकअर्काका विरोधी होइनन्, तर प्रेम गर्दा आफ्नो सपना र आत्मसम्मान कहिल्यै बिर्सनु हुँदैन।

२. प्रेम, सम्बन्ध र करिअरका विषयमा धेरै लेखिएका छन्। ‘ब्लुम’लाई फरक बनाउने यसको मौलिक विचार के हो, जसले यसलाई अर्को प्रेमकथाभन्दा फरक बनाउँछ?
स्मारिका:‘ब्लुम’ केवल प्रेमको कथा मात्र होइन, यो त आफूलाई गुमाएपछि फेरि आफैँलाई खोज्ने र फक्रिने यात्रा हो। यसको मूल सन्देश नै ‘कसैलाई माया गर्दा आफूलाई नबिर्सनु’ भन्ने हो, जसले यसलाई परम्परागत प्रेमकथाभन्दा फरक बनाउँछ।

३. दाङमा पत्रकारिता गरेर जापानमा सूचना प्रविधि अध्ययन गर्न पुग्नुभयो। तपाईंको यो यात्रामा विदेशिनु सपना पूरा गर्ने साहस हो कि आफ्नै देशमा सम्भावना नदेखेपछि रोज्नुपरेको बाध्यता?
स्मारिका: म यसलाई बाध्यताभन्दा पनि सपना पूरा गर्ने साहस र नयाँ सम्भावनाको खोजी मान्छु। दाङमा रहँदा पत्रकारितासँग जोडिएँ, र अहिले जापानमा सूचना प्रविधि अध्ययन गर्दै विश्वव्यापी परिवेशमा आफ्नो भविष्य निर्माण गरिरहेकी छु।

‘ब्लुम’ लेखक स्मारिका

४. विदेशमा अवसर खोजिरहेका नेपाली युवाले आफ्नो देशप्रतिको जिम्मेवारी र व्यक्तिगत भविष्यबीच सन्तुलन कसरी कायम गर्न सक्छन्?
स्मारिका:हामी भौतिक रूपमा जहाँ रहे पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन सक्छौँ। विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई कुनै न कुनै माध्यमबाट आफ्नो समाज र देशको हितमा प्रयोग गर्नु नै देशप्रतिको वास्तविक जिम्मेवारी हो।

५. उपन्यास लेख्दा तपाईंले आफ्नै जीवनका अनुभवलाई कति ठाउँ दिनुभयो? व्यक्तिगत अनुभूति र काल्पनिक पात्रबीचको सीमा कसरी निर्धारण गर्नुभयो?
स्मारिका:लेखकको जीवनका अनुभूति र दृष्टिकोणले लेखनमा पक्कै प्रभाव पार्छन्। तर ‘ब्लुम’ मेरो जीवनको हुबहु कथा भने होइन। समाजका यथार्थ र मेरा अनुभूतिलाई आधार बनाएर साहित्यिक कल्पना र सिर्जनशीलताको संयोजनबाट पात्रहरू निर्माण गरेकी हुँ।

६. आजको पुस्ता सम्बन्धमा स्वतन्त्रता चाहन्छ, तर सम्बन्ध टिकाउनुपर्ने जिम्मेवारीबाट भने डराउँछ भन्ने आरोप छ। तपाईंको विचारमा यो वास्तविकता हो कि पुरानो पुस्ताले नयाँ पुस्तालाई बुझ्न नसकेको परिणाम?
स्मारिका:सबै युवालाई एउटै डालोमा हालेर हेर्न मिल्दैन। व्यक्तिगत स्वतन्त्रता चाहनु गलत होइन, तर सम्बन्धमा जिम्मेवारी पनि उत्तिकै आवश्यक हुन्छ। मेरो विचारमा स्वस्थ सम्बन्ध नियन्त्रणमा होइन, विश्वास, इमानदारी र एकअर्काप्रतिको सम्मानमा टिक्छ।

७. सामाजिक सञ्जालले युवालाई आफ्नो जीवन अरूसँग तुलना गर्न बाध्य बनाइरहेको छ। यसले उनीहरूको प्रेम, आत्मसम्मान र सफलताको परिभाषालाई कसरी प्रभावित गरेको छ?
स्मारिका:सामाजिक सञ्जालमा देखिने अरूको चमकधमक र सफलतालाई आफ्नो वास्तविक जीवनसँग तुलना गर्ने बानीले युवाहरूमा आत्मविश्वास घटाउने काम गरेको छ। हरेक व्यक्तिको जीवनयात्रा र संघर्ष फरक हुन्छ, त्यसैले आफ्नो मूल्य र सफलता अरूसँग तुलना गरेर निर्धारण गर्नु हुँदैन।

प्रेम गर्नु भनेको आफूलाई बिर्सनु होइन, बरु प्रेमकै बीचमा आफ्नो पहिचान, सपना र आत्मसम्मान जोगाउनु पनि हो

८. दाङमा पत्रकारिता गर्दाको सामाजिक यथार्थ र जापानमा देखेको जीवनशैलीबीच तपाईंले सबैभन्दा ठूलो वैचारिक भिन्नता के पाउनुभयो? त्यसको प्रभाव ‘ब्लुम’मा कसरी परेको छ?
स्मारिका: दाङको पत्रकारिताले मलाई समाजको धरातल र मानिसका संवेदना बुझ्न सिकायो भने जापानको बसाइले समयको महत्त्व, अनुशासन र आत्मनिर्भरता सिकाइरहेको छ। यी दुवै परिवेशको अनुभवले मलाई मानिसका संघर्ष र सपनालाई अझ फराकिलो र परिपक्व दृष्टिले हेर्न मद्दत गरेको छ, जुन ‘ब्लुम’मा पनि झल्किन्छ।

९. साहित्यले पाठकलाई मनोरञ्जन र भावनात्मक सन्तुष्टि दिनु पर्याप्त छ, कि समाजका असहज सत्यसँग पनि साक्षात्कार गराउनुपर्छ? ‘ब्लुम’ले पाठकलाई कुन असहज प्रश्नको सामना गराउँछ?
स्मारिका:साहित्यले मनोरञ्जनसँगै पाठकलाई गम्भीर भएर सोच्न पनि प्रेरित गर्नुपर्छ। ‘ब्लुम’ले पाठकसामु एउटा असहज तर आवश्यक प्रश्न उठाउँछ— ‘कसैलाई प्रेम गर्दा कतै हामी आफैँलाई त गुमाइरहेका छैनौँ?’ पाठकले पुस्तक पढिसकेपछि आफ्नो अस्तित्व र आत्मसम्मानबारे एकपटक अवश्य सोचून् भन्ने मेरो चाहना हो।

लेखक स्मारिकाको उपन्यास ‘ब्लुम’

१०. रिल्स, टिकटक भिडियो र सामाजिक सञ्जालको सामग्रीमा अभ्यस्त हुँदै गएको पुस्तालाई उपन्यास पढ्न आकर्षित गर्न नेपाली लेखकले आफ्नो लेखनशैली र प्रस्तुति कसरी बदल्नुपर्छ?
स्मारिका: आजको पुस्तालाई बाँधेर राख्न लेखन सरल, छरितो, रोचक र उनीहरूकै जीवनसँग जोडिएको हुनुपर्छ। सामाजिक सञ्जाललाई पुस्तकको प्रचार र पाठकसँग जोडिने माध्यम त बनाउन सकिन्छ, तर लोकप्रियताका नाममा साहित्यको गहिराइ र मौलिकता भने गुमाउनु हुँदैन।

११. पहिलो उपन्यास प्रकाशित हुनु र दीर्घकालीन साहित्यिक पहिचान बनाउनु फरक कुरा हुन्। ‘ब्लुम’लाई चर्चाभन्दा पर टिकाइराख्ने साहित्यिक शक्ति के हो?
स्मारिका:‘ब्लुम’को मुख्य शक्ति भनेकै आत्मपहिचान, आत्मसम्मान र कठिन संघर्षपछि फेरि उठ्ने आशावादी सन्देश हो। पाठकले यसका पात्रमा आफ्नै जीवनको अनुभूति भेटून् भन्ने प्रयास गरेकी छु। यही भावनात्मक निकटताले कृतिलाई जीवन्त राख्छ र आगामी दिनमा अझ परिपक्व लेखन प्रस्तुत गर्ने मेरो लक्ष्य छ।

१२. नेपाली समाजले सफल युवाको पहिचान विदेश, पैसा र प्रतिष्ठाबाट गर्छ। तपाईंको दृष्टिमा सफल जीवनको वास्तविक मापदण्ड के हो, र ‘ब्लुम’ले प्रचलित सफलताको परिभाषालाई कति चुनौती दिन्छ?
स्मारिका: मेरो लागि सफलता पैसा, विदेश वा बाहिरी प्रतिष्ठामा मात्र सीमित छैन। आफ्ना सपना पूरा गर्नु, जुनसुकै मोडमा पनि आत्मसम्मान जोगाउनु र आफ्नो जीवनप्रति सन्तुष्ट हुन सक्नु नै वास्तविक सफलता हो। ‘ब्लुम’ले यही प्रचलित मान्यतालाई चिर्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई नबिर्सन र आफ्ना सपना नत्याग्न प्रेरित गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

२

अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।

३

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

४

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

५

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

६


TOP