शनिबार , कार्तिक १, २०८३

बेनी, म्याग्दी । मिलन म्याग्दीको २२औँ वार्षिक साधारणसभाले संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन बहुमतबाट पारित गरेको छ। साधारणसभासँगै विजयादशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठपर्व–२०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम शनिबार बेनीमा सम्पन्न भएको हो।

संस्थाकी अध्यक्ष तिलु रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष तथा संस्थाकी पूर्वअध्यक्ष एवं कार्यकारी निर्देशक दिवा पुन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

प्रमुख अतिथि पुनले संस्थाको दिगो विकासका लागि पारदर्शिता, उत्तरदायित्व र सदस्यहरूको सक्रिय सहभागिता महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। उहाँले संस्थागत उद्देश्य प्राप्तिका लागि सामूहिक प्रयास र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष विनय श्रेष्ठले संस्थाका उद्देश्यअनुरूपका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संस्थागत एकता, योजनाबद्ध कार्यसम्पादन र सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी, संस्थापकका तर्फबाट अमर बानियाले मन्तव्य राख्दै संस्थाको संस्थागत विकास तथा सामाजिक योगदानलाई निरन्तरता दिन सहकार्य, एकता र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो।

साधारणसभाको बन्दसत्रमा संस्थाकी सचिव बालकुमारी पुनले प्रस्तुत गर्नुभएको सचिवको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानु बानियाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि छलफल गरिएको थियो। छलफलपछि दुवै प्रतिवेदन बहुमतबाट पारित भएका थिए। सभामा संस्थाका वार्षिक गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा विजयादशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, सामाजिक एकता, भाइचारा र सांस्कृतिक सहिष्णुता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।

संस्थाकी उपाध्यक्ष मीना रामजालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सचिव बालकुमारी पुनले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा संस्थाका आजीवन सदस्य, साधारण सदस्य, पदाधिकारी तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP