इतिहासको अभिलेखीकरणमा एउटा प्रयास : ‘नव युवा विद्रोह’
– प्रकाश अधिकारी
विषय प्रवेश :
इतिहास लेखिनुअघि घटनाको सत्य, सन्दर्भ र प्रमाण सुरक्षित हुनुपर्छ। कुनै समय सडकमा उठेका आवाज, सत्ताले गरेका निर्णय, नागरिकले व्यक्त गरेका असन्तुष्टि र राज्यका संस्थाले दिएका प्रतिक्रिया भोलिका पुस्ताका लागि अध्ययनको सामग्री बन्न सक्छन्। त्यसैले दस्तावेज सङ्कलनलाई समयप्रतिको बौद्धिक जिम्मेवारी मान्न सकिन्छ।
वि.सं. २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन नेपालको समकालीन राजनीतिक इतिहासको एउटा असाधारण घटना हो। सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध, भ्रष्टाचार र कुशासनप्रतिको असन्तुष्टि तथा राज्यसँग जवाफदेहिताको माग गर्दै युवापुस्ता सडकमा उत्रियो। पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरे र मानवीय क्षति भयो। त्यसपछिको दिन आन्दोलन हिंसात्मक र विध्वंसात्मक बन्यो, जसमा सरकारी संरचना, निजी सम्पत्ति र सार्वजनिक संस्थामा व्यापक क्षति पुग्यो। घटनाक्रम तत्कालीन सरकारको पतन र अन्तरिम सरकार गठनसम्म पुग्यो।
यो आन्दोलन एक दिनको प्रदर्शन र अर्को दिनको विध्वंसमा सीमित थिएन। यसमा युवापुस्ताको असन्तुष्टि, राज्यको शक्ति प्रयोग, राजनीतिक नेतृत्वको असफलता, सामाजिक सञ्जालको प्रभाव, नागरिकको सहभागिता र त्यसपछिका राजनीतिक परिणाम एकअर्कासँग जोडिएका थिए। यही घटनाक्रमसँग सम्बन्धित समाचार, तस्बिर, सामाजिक सञ्जालका अभिव्यक्ति, राजनीतिक दलका विज्ञप्ति र संस्थागत दस्तावेज समेटेर हरिप्रसाद पौडेलले ‘नव युवा विद्रोह’को अनलाइन संस्करण सार्वजनिक गरेका छन्। पुस्तकको मूल उद्देश्य समयका छरिएका सामग्रीलाई एउटै सङ्ग्रहमा राख्नु देखिन्छ। तर घटनाका दस्तावेज सङ्कलन गर्नु र त्यस घटनाको विश्वसनीय इतिहास निर्माण गर्नु एउटै कुरा होइन। यो समीक्षाले पुस्तकलाई त्यही कसीमा हेर्छ।

लेखक तथा संकलक : हरिप्रसाद पौडेल
सङ्कलकको व्यक्तित्व र कृतिको पृष्ठभूमि
बेनी नगरपालिका–६, पिपलबोट, म्याग्दीका हरिप्रसाद पौडेल सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय छन्। उनी कदम म्याग्दीका अध्यक्ष र पूर्व स्थानीय शान्ति समिति संयोजक हुन् र म्याग्दीका करिब दर्जन संस्थामा संलग्न छन्। यसअघि ‘परिस्थितिका उपजहरू–२०८१’ प्रकाशित गरिसकेका पौडेलले यस कृतिमार्फत समसामयिक राजनीतिक घटनाको दस्तावेजीकरण गरेका छन्। आफूले देखेको समय, भोगेको परिस्थिति र सार्वजनिक बहसमा आएका आवाजलाई सुरक्षित राख्न खोज्नु प्रशंसनीय पहल हो।
मलाई लाग्छ, सामाजिक सक्रियता र ऐतिहासिक निष्पक्षता फरक क्षमता हुन्। कुनै घटनासँग भावनात्मक वा वैचारिक निकटता हुनु अस्वाभाविक होइन; तर त्यसलाई अभिलेखमा उतार्दा तथ्य र व्यक्तिगत दृष्टिकोणबीच स्पष्ट दूरी कायम गर्नुपर्छ। सङ्कलकको जिम्मेवारी आफूलाई असहज लाग्ने तथ्य र फरक दृष्टिकोणलाई न्यायोचित स्थान दिनु हो। पौडेलको सामाजिक सक्रियता पुस्तकको पृष्ठभूमि हो; पुस्तकको गुणस्तर भने सम्पादकीय सन्तुलनले निर्धारण गर्छ।

सामग्रीको विविधता : पुस्तकको सबल पक्ष
‘नव युवा विद्रोह’को सबैभन्दा बलियो पक्ष यसमा समेटिएको सामग्रीगत विविधता हो। उपलब्ध विवरणअनुसार पुस्तकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीतिक दलका विज्ञप्ति र धारणा समेटिएका छन्। गगन थापा, विश्वप्रकाश शर्मा, शंकर पोखरेल, पुष्पकमल दाहालका अभिव्यक्तिसँगै रवि लामिछानेको कारागार सन्देशसमेत यसमा अटेका छन्।
त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घजस्ता संस्थाका प्रतिक्रिया तथा अन्तर्राष्ट्रिय धारणा पनि समावेश छन्। सञ्चारमाध्यमका समाचार कटिङ, प्रदर्शनका तस्बिर र सामाजिक सञ्जालका पोस्टहरूले तत्कालीन सार्वजनिक मनोविज्ञान र राजनीतिक तापक्रम बुझ्न सहयोग पुर्याउँछन्।
विशेषगरी सरकार र जेनजी प्रतिनिधिबीच २०८२ मंसिर २४ गते भएको १० बुँदे सम्झौता पुस्तकमा समावेश हुनु महत्त्वपूर्ण अभिलेखीय पक्ष हो। यो आधिकारिक दस्तावेजमा आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गर्ने, सहिद तथा घाइते परिवारका माग सम्बोधन गर्ने, सुशासन, भ्रष्टाचार नियन्त्रण, संवैधानिक सुधार र निर्वाचन प्रणाली परिमार्जनजस्ता बुँदा छन्। भविष्यका अनुसन्धानकर्ताले यी सामग्रीलाई प्रारम्भिक अध्ययनको सन्दर्भका रूपमा प्रयोग गर्न सक्छन्।
प्रस्तुतीकरण र सम्पादकीय अनुशासन
‘नव युवा विद्रोह’ शीर्षकसँगै ‘संलग्नता, समर्थन र विरोधको चक्रव्यूह’ उपशीर्षक राखिएको १७३ पृष्ठको यो कृति जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा सेप्टेम्बर ८ मा अनलाइन संस्करणका रूपमा सार्वजनिक भएको थियो। २०८३ कार्तिक २२ गते लक्ष्मीपूजाको दिन म्याग्दी पुस्तकालयमा आयोजित कार्यक्रममा म्याग्दीका अग्रज साहित्यकार धुव्रलाल शर्माले यसको लोकार्पण गरे। सन्दीप खत्रीले लेआउट गरेको पुस्तक लालीगुँरास अफसेट प्रेसले मुद्रण गरेको छ। यसको प्रस्तावित प्रिन्ट संस्करणका लागि ३०० प्रति मुद्रण गर्ने र मूल्य रु. ७५० तोक्ने विवरण उल्लेख छ। सीमित मुद्रण र उच्च मूल्यले गर्दा विद्यार्थी, युवा र प्रारम्भिक अनुसन्धानकर्ताको पहुँचमा यो पुस्तक पुग्न चुनौतीपूर्ण हुन सक्छ।
प्रस्तुतीकरणका दृष्टिले अनलाइन संस्करणमा समाचार कटिङ, सामाजिक सञ्जालका स्क्रिनसट, विज्ञप्ति र तस्बिरहरूलाई विनावर्गीकरण एकैठाउँमा राखिएको देखिन्छ। दृश्य सामग्रीमा अक्षर स्पष्ट नदेखिनु, मूल स्रोत काटिनु, मिति नखुल्नु वा सामग्रीको सन्दर्भ हराउनुले दस्तावेजको ओज घटाउँछ। यस्ता सामग्रीलाई आधिकारिक दस्तावेज, सञ्चारमाध्यमका समाचार, सामाजिक सञ्जालका पोस्ट र व्यक्तिगत टिप्पणी गरी चार अलग समूहमा वर्गीकरण गर्नु आवश्यक छ।
भाषिक दृष्टिले हेर्दा यस पुस्तकको भाषालाई दुई तहमा छुट्याएर विश्लेषण गर्न सकिन्छ: पहिलो, सङ्कलित सामग्रीको आफ्नै बहुआयामिक भाषा; दोस्रो, सङ्कलक स्वयंले लेखेका भूमिका तथा टिप्पणीहरूको भाषा। सङ्कलित सामग्रीमा तत्कालीन सन्दर्भको मौलिक भाषा सुरक्षित हुनु स्वाभाविक हो। तर सङ्कलक आफैँले लेखेका ‘भूमिका’ (पृष्ठ ५–८), ‘जेनजी भनेको के हो?’ (पृष्ठ ११–१६) र ‘अन्त्यमा मेरो भन्नु’ (पृष्ठ १६५–१७३) जस्ता खण्डमा प्रयोग भएको भाषा अत्यन्त आक्रामक र अमर्यादित देखिन्छ। आलोचना जतिसुकै कडा भए पनि सार्वजनिक महत्त्वको पुस्तकमा भाषाको मर्यादा र तर्कको अनुशासन गुम्नु हुँदैन। यसका अतिरिक्त सामग्रीको कालक्रम नमिल्नु तथा वर्णविन्यास र व्याकरणका त्रुटि रहनुले सम्पादकीय अनुशासनको अभाव देखाउँछ।
‘खहरे आन्दोलन’ : शब्द चयन र दृष्टिकोण
पुस्तकको प्रारम्भिक पृष्ठहरू (विशेषतः पृष्ठ १७–२०) मा आन्दोलनको चरित्र चित्रण गर्ने क्रममा यसलाई ‘खहरे आन्दोलन’ भनिएको छ। खहरेको बिम्बले क्षणिकता, आवेग र अस्थायित्व सङ्केत गर्छ, त्यसैले सुरुवाती पृष्ठबाटै सङ्कलकको दृष्टिकोण पूर्वाग्रही छ कि भन्ने शङ्का पाठकमा उठ्छ। आन्दोलनको ऐतिहासिक महत्त्व त्यसको समयावधिले मात्र तय हुँदैन; त्यसले उठाएका प्रश्न, राज्यको व्यवहारमा परेको प्रभाव, राजनीतिक संरचनामा आएको परिवर्तन र समाजमा जन्माएको विमर्श पनि मूल्याङ्कनका आधार हुन्।
आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिको तथ्यपरक आलोचना हुनैपर्छ। तर त्यसैका आधारमा भ्रष्टाचार, कुशासन र जवाफदेहिताबारे उठेका मूल प्रश्नलाई खारेज गर्न मिल्दैन; न त आन्दोलनको नाममा भएका अराजक गतिविधिलाई स्वतः न्यायोचित मान्न सकिन्छ। आन्दोलनले उठाएका राजनीतिक–सामाजिक माग र त्यसक्रममा भएका विध्वंसात्मक क्रियाकलापलाई अलग–अलग राखेर हेर्नुपर्छ। ‘खहरे’ जस्तो एउटा विशेषणमा सीमित नगरी इतिहासले यी अन्तर्विरोधलाई पनि ठाउँ दिनुपर्छ।
तथ्याङ्कको सन्दर्भ र प्रमाणको दूरी
कुनै पनि ऐतिहासिक घटनाको दस्तावेजीकरणमा तथ्याङ्क अत्यन्त संवेदनशील पक्ष हो। पुस्तकको मध्यखण्ड (पृष्ठ १३८–१४४) मा आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिका आँकडाहरू प्रस्तुत गरिएका छन्। तर, दुई दिनको प्रदर्शनमा देशभर १३ हजार १८२ पटक फायरिङ भएको र २ हजार ६४२ राउन्ड वास्तविक गोली प्रयोग भएको विवरण प्रहरीको प्रारम्भिक अभिलेखमा आधारित समाचार कटिङ मात्र हो। यसलाई अन्तिम न्यायिक निष्कर्षका रूपमा लिन सकिँदैन। सरकारी क्षति मूल्याङ्कन समिति र कारागार विभागका अद्यावधिक विवरणहरू पनि फरक समयका छन्। प्रारम्भिक अनुमान, अद्यावधिक प्रतिवेदन र अन्तिम निष्कर्षलाई स्रोत र मिति नखुलाई एउटै तहमा राख्दा पाठकमा भ्रम उत्पन्न हुन्छ।
त्यसैगरी पुस्तकका विवादास्पद पृष्ठहरूमा बारबरा फाउन्डेसनसँग जोडिएको आर्थिक सहयोगको दाबी (पृष्ठ १०३–१०६), काठमाडौंका मेयर बालेन शाहको भूमिकामाथि गरिएका टिप्पणी (पृष्ठ ११२–११६) र नख्खु कारागारबाट प्राप्त भनिएको विवादित पत्र (पृष्ठ १२४–१२६) जस्ता संवेदनशील सामग्री समावेश छन्। यस्ता विषयमा सम्बन्धित पक्षको खण्डन वा स्वतन्त्र पुष्टिबिना एकपक्षीय आरोपलाई प्रमाणित तथ्यझैँ प्रस्तुत गरिनु कृतिको गम्भीर कमजोरी हो।
यस्तै कमजोरी पुस्तकको अन्तिम खण्ड ‘अन्त्यमा मेरो भन्नु’ (पृष्ठ १६५–१७३) मा अझ प्रस्ट देखिन्छ। यस खण्डमा २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचन, नयाँ राजनीतिक दलको उदय र जनमतलाई ‘डिजिटल ब्ल्याकमेलिङ’, ‘अदृश्य सेटिङ’ र ‘विदेशी शक्तिको ग्रान्ड डिजाइन’ जस्ता अमूर्त षड्यन्त्रसँग जोडिएको छ। कुनै पनि वस्तुनिष्ठ प्रमाणबिना मतदाताको सार्वभौम निर्णयलाई बाह्य शक्तिको डिजाइन भन्नु कता कता लोकतान्त्रिक चेतविपरीत हुन जान्छ जस्तो नि लाग्छ। यसलाई सङ्कलकको व्यक्तिगत विचारका रूपमा बुझ्न सकिए पनि ऐतिहासिक निष्कर्ष मान्न सकिँदैन।
आगामी प्रिन्ट संस्करणका लागि सुधारका आधार
अनलाइन संस्करणमा रहेको यो कृति प्रिन्ट संस्करणमा जाँदा सम्पादकीय र संरचनात्मक रूपमा परिमार्जन हुनुपर्छ। सबैभन्दा पहिले आधिकारिक सरकारी अभिलेख, सञ्चारमाध्यमका समाचार, सामाजिक सञ्जालका अभिव्यक्ति र व्यक्तिगत व्याख्यालाई छुट्टाछुट्टै अध्यायमा राख्नुपर्छ। प्रत्येक दस्तावेजसँग त्यसको मूल स्रोत, आधिकारिक प्रकाशन मिति, डिजिटल लिङ्क र आर्काइभ पहिचान स्पष्ट रूपमा खुलाउनु आवश्यक छ। पृष्ठ १०३ देखि १२६ सम्म समेटिएका विवादित दाबी वा आरोपसँगै सम्बन्धित पक्षको खण्डन र स्पष्टीकरण पनि राखेर सन्तुलन मिलाउनुपर्छ।
घटनाक्रमलाई तिथिमितिअनुसार कालक्रममा मिलाउनुपर्छ, र पुस्तकको अन्त्यमा व्यक्ति, संस्था, विषय र मितिअनुसार खोज्न सकिने विस्तृत अनुक्रमणिका, स्रोत सूची र विषयसूची राख्नुपर्छ। धमिलो अनलाइन दृश्य सामग्रीको सट्टा प्रिन्ट संस्करणमा उच्च गुणस्तरको स्क्यान, स्पष्ट पृष्ठ विन्यास र पठनीय फन्ट प्रयोग गर्नुपर्छ। सङ्कलकको व्यक्तिगत राजनीतिक दृष्टिकोण र मूल दस्तावेजबीच स्पष्ट रेखा कोर्दै भाषाको कटुता र आक्रामकता सम्पादकीय संयमले घटाउनुपर्छ। साथै पुस्तकको मूल्य तोक्दा विद्यार्थी र आम अनुसन्धानकर्ताको क्रयशक्तिलाई पनि ध्यान दिनुपर्छ।
जाँदाजाँदै
समग्रमा, ‘नव युवा विद्रोह’ सङ्कलक हरिप्रसाद पौडेलले जेनजी आन्दोलनका सडकका आवाज, विभिन्न राजनीतिक दृष्टिकोण र ऐतिहासिक क्षणका तस्बिर एउटै ग्रन्थमा सुरक्षित राख्न गरेको आँटिलो प्रयास हो। यी सामग्री समयसँगै ओझेल पर्न सक्थे; अब भविष्यका अध्येताले तिनको अध्ययन गर्न पाउँछन्। पुस्तकले घटनाक्रमको विस्तृत परिदृश्य पाठकसामु राखेको छ, जसले सार्वजनिक बहसका लागि सामग्री दिन्छ।
अनलाइन संस्करणका रूपमा सार्वजनिक यो कृति आफैँमा पूर्ण इतिहास होइन, तर प्रामाणिक इतिहास लेख्नका लागि उपयोगी प्रस्थानविन्दु हो। सङ्कलकले प्रिन्ट संस्करणमा सम्पादकीय सन्तुलन, स्रोतको थप आधिकारिकता, सामग्रीको वर्गीकरण र भाषाको मर्यादा मिलाएमा ‘नव युवा विद्रोह’ नेपालको राजनीतिक–सामाजिक रूपान्तरण, पुस्तागत चेतना र लोकतान्त्रिक आन्दोलनको अध्ययनका लागि भरपर्दो सन्दर्भ ग्रन्थ बन्छ।
पुस्तकको परिचय र संक्षिप्त विवरण
पुस्तकको नाम: नव युवा विद्रोह (दस्तावेजहरुको संगालो)
संकलक/लेखक: हरिप्रसाद पौडेल (म्याग्दी)
संस्करण: अनलाइन संस्करण,२०८३ भाद्र
मूल्य : रु. ७५०/-
प्रति : जम्मा ३०० प्रति,
मुद्रण: लालीगुराँस अफसेट प्रेस, बेनी




