काठमाडौं, २२ कात्तिक । यमपञ्चकको दोस्रो र तेस्रो दिन मनाइने कुकुर तिहार तथा लक्ष्मीपूजा यस वर्ष तिथि घटबढका कारण आज एकैदिन परेको छ। पञ्चाङ्गअनुसार आज बिहान कुकुरको पूजा गरेर साँझ धनधान्यकी देवी माता लक्ष्मीको पूजा–आराधना गरिँदै छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान कुकुरको पूजा गर्ने र औँसी तिथि सुरु हुने भएकाले साँझ लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ। कुकुरलाई आज्ञापालक, सुरक्षाको प्रतीक तथा यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने धार्मिक विश्वास छ। यमलोक जाँदा द्वारपालका रूपमा रहेका ‘श्याम’ र ‘सबल’ नामका कुकुरले बाटो छोडिदिने मान्यतासमेत रहिआएको छ।
आजकै दिनलाई ‘नरक चतुर्दशी’ पनि भनिन्छ। बिहानै नदी, तीर्थ वा जलाशयमा स्नान गरी दक्षिणतर्फ फर्काएर बत्ती बगाउनाले नरक जानु नपर्ने विश्वास छ। साथै, यमपञ्चक अवधिभर तिलको तेल लगाएर स्नान गर्नाले स्वास्थ्य लाभ हुने आयुर्वेदिक मान्यता छ।
समितिका अनुसार भोलि कात्तिक २३ गते गाईपूजा, २४ गते गोवर्धन पूजा, गोरुपूजा, हलीतिहार तथा म्हपूजा ९आत्मपूजा० परेको छ। तिहारको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते परेको छ, जसको उत्तम साइत बिहान ११ः०७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।




