गोरखा । उत्तरी गोरखाको साम्दोस्थित लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ। पहिरोका कारण खोलाको प्राकृतिक बहाव अवरुद्ध हुँदा सो स्थानमा करिब एक सय ५० मिटर लामो कृत्रिम ताल निर्माण भएको छ।
बुढीगण्डकी नदीको मुहान नजिकै रहेको उक्त खोला थुनिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको रातोपाटीले समाचार लेखेको छ। घटनास्थलमा रहेका स्थानीय निमा दोर्जेका अनुसार हाल ताल तत्कालै फुटिहाल्ने अवस्था नरहे पनि एकैपटक विस्फोट भएमा तल्लो क्षेत्रमा ठुलो बाढी आउन सक्ने जोखिम छ। आवश्यक उपकरणको व्यवस्था गरी थुनिएको पानीलाई सुरक्षित तवरले निकास दिन सकिने स्थानीयको भनाइ छ।
यसैबिच, जिल्ला प्रहरी कार्यालय गोरखाले पहिरो खसेर खोला थुनिएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनिल खड्काले घटनास्थलको अवस्थाबारे स्थानीयसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो। उहाँले तत्काल ठुलो क्षति हुने अवस्था नदेखिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार सतर्कताको सूचना जारी गरिने बताउनुभयो।




