काठमाडौं । दुई दिनदेखि लगातार परेको वर्षा रोकिएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को खेल सञ्चालन गर्ने तयारी थालिएको छ ।
वर्षा रोकिएर घाम लागेपछि पानीले भिजेको मैदान सुकाउन थालिएको हो । मैदान खेल सञ्चालनयोग्य बनाउने प्रयास भइरहेका छन् ।
एनपीएलको तेस्रो संस्करणअन्तर्गत आज साँझ ५ बजेदेखि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच खेल हुने तालिका छ । यद्यपि, खेल निर्धारित समयमा सञ्चालन हुने वा नहुनेबारे अझै निश्चित भइसकेको छैन ।
यसअघि आज दिउँसो १२ बजेका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उक्त खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
अब मैदान सुकाउने प्रयास सफल भए साँझ सुदूरपश्चिम र विराटनगरबीचको प्रतिस्पर्धा हेर्न पाइनेछ ।




