काठमाडौँ, २६ कात्तिक । कप्तान सन्दीप लामिछानेको जादुमयी बलिङ प्रदर्शनको मद्दतमा विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) जारी खेलमा पोखरा एभेन्जर्सलाई १३२ रनमै अलआउट गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्स १७.५ ओभरमा १३२ रन बनाउँदा अलआउट भएपछि विराटनगरले जितका लागि १३३ रनको मध्यम लक्ष्य पाएको हो।
सन्दीपको ऐतिहासिक बलिङ र युवराजको संघर्ष
पोखरालाई सस्तोमै रोक्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित कुल ६ विकेट लिए। १४औँ ओभरको सुरुवाती दुई बलमा छक्का र चौका खाएर दबाबमा परेका सन्दीपले त्यसपछिका लगातार तीन बलमा तीन ब्याटरलाई पेभिलियन फर्काउँदै ह्याट्रिक पूरा गरेका थिए।
पोखराका लागि ओपनर युवराज सिंह सामराले ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८४ रनको विष्फोटक अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याउने प्रयास गरे। तर, सन्दीपको घातक स्पिन अगाडि पोखराका अन्य ब्याटरहरू टिक्न नसक्दा टोलीले पूरा २० ओभर खेल्न सकेन।
अब दोस्रो इनिङ्समा के होला?
अहिले इनिङ्स ब्रेक चलिरहेको छ र विराटनगर किङ्सले १३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्दैछ। ५ खेलबाट ४ अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा रहेको विराटनगरका लागि प्लेअफको दौडमा बलियो रहन आजको जित निकै महत्त्वपूर्ण छ। आन्द्रे रसेल जस्ता आक्रामक ब्याटर सम्मिलित विराटनगरलाई १३३ रनको लक्ष्य सहज देखिए पनि अङ्क तालिकाको पुछारमा रहेको पोखरा (२ अङ्क) बलिङमा कडा चुनौती दिँदै खेलमा फर्किन चाहन्छ।




