Trend
‘विष्णु भगवान्‌को अवतार’ घोषणा सक्कली नै भएको अध्यक्षको स्वीकारोक्ति: ‘पत्रमा जे लेखिएको छ, त्यही हो!’  ||   साहित्यमा एआई बहस: लेखकले मेसिनसँग सहकार्य गर्न पाउने कि नपाउने?  ||   अनौठो सिफारिस: सरकारी लेटरप्याडमै व्यक्तिलाई ‘भगवान्’ घोषणा!  ||   लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी  ||   मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।  ||   मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी  ||   भोर्लेटारमा रैथाने हाटबजार शुरु।  ||   पहिलो सेवाग्राहीलाई पान हस्तान्तरण गर्दै नगर प्रमुख- पाण्डे।  ||  
शनिबार , अषोज १०, २०८३
साहित्यमा एआई बहस: लेखकले मेसिनसँग सहकार्य गर्न पाउने कि नपाउने? – Sarangi News

कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगसँगै विश्व साहित्यिक वृत्तमा लेखकको भूमिकालाई लिएर नयाँ विवाद सुरु भएको छ। जारी बहसमा लेखकलाई केवल दुई कित्ता— ‘निर्दोष’ वा ‘ठग’ का रूपमा मात्र हेर्न थालिएको भन्दै लेखकहरूले नै असन्तुष्टि जनाउन थालेका छन्। प्रविधिलाई पारदर्शी रूपमा प्रयोग गर्न पाउनुपर्ने र लेखकलाई मेसिनसँग सहकार्य गर्ने अधिकार छ कि छैन भन्ने मूल प्रश्न भने ओझेलमा परेको टिप्पणी हुन थालेको छ।

विवादको सुरुआत फ्रान्सेली लेखक थेइलिसों ओरेलियाँको उपन्यास ‘सेटे साओ मोरर’ (त्यो गर्नुपर्थ्यो कि मर्नुपर्थ्यो) बाट भएको हो। सामाजिक सञ्जालको एक अज्ञात खाताबाट उक्त पुस्तकलाई एआई पहिचान प्रणालीमार्फत जाँच गराइएको थियो। परीक्षण पद्धतिले उक्त पुस्तक लगभग पूर्ण रूपमा मेसिनले तयार पारेको निष्कर्ष निकालेपछि साहित्य जगत तरंगित बन्यो।

लगत्तै ओरेलियाँका प्रकाशक ग्रासेले उक्त आरोपलाई ‘फेक न्युज’ र ‘षड्यन्त्रको सिद्धान्त’ भन्दै खारेज गर्‍यो। प्रकाशकले ओरेलियाँको साहित्यिक पृष्ठभूमि स्मरण गराउँदै उनी लामो समयदेखि लेख्दै आएको र आफ्नो अभिव्यक्तिमा पोख्त रहेकाले ‘एआईको आवश्यकता नै नरहेको’ जिकिर गर्‍यो।

तर, आरोप लगाउने र बचाउ गर्ने दुवै पक्षको दृष्टिकोणले एउटै पुरानो मान्यतालाई स्थापित गर्न खोजेको विश्लेषण गरिएको छ— ‘मेसिनसँग मिलेर लेख्नु लेखकीय सीमा नाघ्नु वा कमजोरी स्वीकार्नु हो।’ यस प्रकारको सोचले प्रविधिको खुला र इमानदार प्रयोग गर्न चाहने लेखकहरूका लागि ठाउँ साँघुरो बनाएको लेखकहरूको गुनासो छ।

यसै सन्दर्भमा लेखक सेबास्तियाँ बायलीले साहित्यिक जगतको यो संकीर्ण दृष्टिकोणप्रति असहमति जनाएका छन्। आफू स्वयं एआईसँग सहकार्य गरेर लेख्ने र अन्य लेखकलाई पनि यसको विधि सिकाउने गरेको बताउँदै उनले मेसिनको सहायता लिनु साहित्यिक अपराध नभएको दाबी गरे।

बायलीका अनुसार एआईलाई सामान्य ‘कमान्ड’ दिएर उपन्यास बन्दैन। उनले भनेका छन्, “कसैलाई लाग्न सक्छ, बस् एउटा विषय दिएर लेख्न लगाए पुग्छ। तर, त्यसरी आउने सामग्री चिल्ला र मिलाइएका वाक्यले भरिए पनि त्यसमा कुनै जीवन्तता हुँदैन।” एउटा पुस्तक तयार हुन मेसिनबाहिरको कच्चा सामग्री— विचार, व्यक्तिगत अनुभव, परिवेश, मानवीय भावना र संवेदनशीलता अनिवार्य हुने उनको भनाइ छ। मेसिनले प्रस्तुत गरेका सामग्रीमा के राख्ने, के हटाउने र के पुनर्लेखन गर्ने भन्ने अन्तिम निर्णय सधैँ लेखककै हातमा रहने बायलीले स्पष्ट पारे।

साहित्यमा संरचना, कडा नियम र प्रविधिको प्रयोग ऐतिहासिक रूपमै हुँदै आएको स्मरण गराउँदै विज्ञहरूले यो बहसलाई फराकिलो बनाउनुपर्ने औँल्याएका छन्। सन् १९६० को दशकमा स्थापित ‘ओलिपो’ (सम्भावित साहित्यको कार्यशाला) अभियानअन्तर्गत रेमों क्वेनो र जर्ज पेरेक जस्ता लेखकहरूले गणितीय नियम, सीमितता र पूर्वलिखित पंक्तिहरूलाई जोडेर नवीन साहित्यिक प्रयोग गरेका थिए। त्यतिबेला ती नियम र प्रक्रियालाई सिर्जनात्मक उपकरण मानिएको तर लेखकको हैसियतमाथि प्रश्न नउठाइएको उदाहरण दिँदै अहिले एआईसँगको पारदर्शी सहकार्यलाई पनि अपराधका रूपमा हेर्न नहुने तर्क बलियो बन्दै गएको छ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP