पोखरा, मङ्सिर ९ गते । नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष, नेपाल ट्रेड युनियन काङ्ग्रेस कास्कीका पूर्वअध्यक्ष तथा नवप्रभात माध्यमिक विद्यालय, पोखराका पूर्वप्रधानाध्यापक विजयराज भण्डारीले मादी गाउँपालिका–८, मिजुरे, रबैडाँडास्थित नारायण आधारभूत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
जनप्रकाश बहुमुखी क्याम्पस, सञ्चालक समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिका–२९ निवासी शिक्षासेवी भण्डारीले आफूले प्राप्त गर्ने निवृत्तिभरणको रकम व्यक्तिगत सुखसुविधामा खर्च नगरी ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पढाइप्रति प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको बताए । उनले आर्थिक अवस्था कमजोर भएका तथा जेहेनदार विद्यार्थीलाई सहयोग गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको बताए ।
उनले गरिब तथा किसानका पक्षमा उठाइने आवाजप्रति आफ्नो सधैँ समर्थन रहने बताउँदै विद्यार्थीलाई ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छु भन्ने भावनालाई आत्मसात् गर्न आग्रह गरे। साथै, अध्ययनमा विशेष ध्यान दिएर असल र जिम्मेवार नागरिक बन्न विद्यार्थीलाई सुझाव दिए ।
कास्की र तनहुँका विभिन्न विद्यालयमा सहयोग गर्दै आएका भण्डारीले यसअगि पोखरा–१९ चुरुङ्गास्थित धारा आधारभूत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक तथा स्टेशनरी वितरण गरेका थिए । त्यसै गरी उनले लक्ष्मी आदर्श माध्यमिक विद्यालय, पोखरा–२७ मा १ लाख, सिर्जना बहिरा माध्यमिक विद्यालय, पोखरा–२६ मा १ लाख, रत्नशोभा माध्यमिक विद्यालय, पोखरा–२८ मा १ लाख ५० हजार र शान्ति आधारभूत विद्यालय, पोखरा–३० मा १ लाख रुपियाँको अक्षयकोष स्थापना गरेका थिए । यसै गरी रूपा गाउँपालिकास्थित माईमैदान आधारभूत विद्यालय, कल्प आधारभूत विद्यालय तथा माछापुच्छ्रे गाउँपालिकाको बाराही आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गर्नुका साथै पोखरा–३२ स्थित राधाकृष्ण आश्रममा सञ्चालित विद्यालयमा खाद्यान्न तथा स्टेशनरीसमेत सहयोग गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप्पल गुरुङले विद्यालयको व्यवस्थापकीय अवस्थाबारे जानकारी गराउँदै सरकारी निकायबाट हुनुपर्ने सहयोगसमेत व्यक्तिगत पहलबाट उपलब्ध गराई बालबालिकाको मुहारमा खुसी ल्याउन योगदान पुर्याएकोमा भण्डारीप्रति आभार व्यक्त गरे ।
त्यसै गरी विद्यालयका प्रधानाध्यापक धर्मलाल आचार्यले ग्रामीण क्षेत्रको विद्यालयमा पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै अध्ययनप्रति हौसला प्रदान गरेकामा सहयोगी भण्डारीप्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी राजेन्द्र अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य सूर्यबहादुर न्यौपाने, अभिभावक मिनबहादुर क्षेत्रीलगायतले भण्डारीको सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता सहयोगले विद्यार्थीको अध्ययनमा सकारात्मक प्रभाव पार्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक धर्मलाल आचार्यले गरेका थिए ।




