काठमाडौँ, २० कात्तिक । पछिल्लो समय नेपालमा शिक्षण पेसाप्रति युवा पुस्ताको आकर्षण तीव्र रूपमा घट्दै गएको पाइएको छ । शिक्षक सेवा आयोगको पछिल्लो पाँच वर्षको तथ्याङ्कले निम्न माध्यमिक र माध्यमिक दुवै तहका अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा आवेदन दिने उम्मेदवारहरूको सङ्ख्यामा भारी गिरावट आएको देखाएको हो ।

आयोगको वार्षिक प्रतिवेदनअनुसार युवा पुस्तामा परम्परागत शिक्षण पेसाप्रतिको मोह भङ्ग हुँदै जानु र श्रमबजारका अन्य क्षेत्रहरूमा आकर्षक एवं सुविधायुक्त वैकल्पिक अवसरहरू सिर्जना हुनु नै दरखास्त घट्नुका मुख्य कारण हुन् । एकातिर परीक्षामा सहभागी हुने युवाको सङ्ख्या घट्नु र अर्कोतिर सहभागीमध्ये अधिकांश अनुत्तीर्ण हुनुले विद्यालय शिक्षामा गुणस्तरीय जनशक्तिको दीर्घकालीन अभाव हुने जोखिम बढाएको छ ।

चार वर्षमा आधा घट्यो निमाविको आवेदन

शिक्षक सेवा आयोगको आ.व. २०७७/७८ देखि २०८०/८१ सम्मको तथ्याङ्क हेर्दा अध्यापन अनुमतिपत्रका लागि दरखास्त दिनेको ग्राफ निरन्तर ओरालो लागेको छ । निम्न माध्यमिक तहतर्फ आ.व. २०७७/७८ मा २ लाख ६ हजार ६८० जनाले आवेदन दिएकामा आ.व. २०८०/८१ सम्म आइपुग्दा यो सङ्ख्या आधाभन्दा बढीले घटेर १ लाख ९ हजार ८२ मा खुम्चिएको छ ।

उत्तीर्ण सङ्ख्याको अवस्था हेर्दा निमावि तहमा आ.व. २०७७/७८ मा ३१ हजार ५५८ जना, आ.व. २०७८/७९ मा १ लाख ७९ हजार ४९० आवेदकमध्ये १३ हजार ७ जना र आ.व. २०७९/८० मा १ लाख १९ हजार ३११ आवेदकमध्ये १० हजार ९७४ जना मात्र सफल भएका थिए । आ.व. २०८०/८१ मा भने दरखास्त घटे पनि उत्तीर्ण हुनेको सङ्ख्या ३५ हजार २६८ पुगेको थियो ।

त्यसैगरी, माध्यमिक तहको अवस्था पनि उस्तै निराशाजनक छ । आ.व. २०७७/७८ मा ६७ हजार ९२६ जनाले आवेदन दिँदा २३ हजार १२ जना उत्तीर्ण भएका थिए । आ.व. २०७८/७९ मा ६१ हजार ५५ दरखास्त पर्दा २३ हजार ३६६ जना र आ.व. २०७९/८० मा ४५ हजार ५१० आवेदन पर्दा १२ हजार ७२९ जना मात्र पास भए । आ.व. २०८०/८१ मा दरखास्त सङ्ख्या अझ घटेर ४३ हजार ३२३ मा सीमित हुँदा २४ हजार ५८१ जना उत्तीर्ण भएका छन् ।

मावि तहको सामान्य परीक्षामा ७०.५३ प्रतिशत असफल

आर्थिक वर्ष २०८२/८३ को माध्यमिक तहको सामान्य परीक्षाको नतिजा पनि अत्यन्तै कमजोर देखिएको छ । परीक्षामा सहभागी कुल ३८ हजार १२४ उम्मेदवारमध्ये जम्मा ११ हजार २३६ जना (२९.४७ प्रतिशत) मात्र उत्तीर्ण भएका छन् । दुई तिहाइभन्दा बढी अर्थात् ७०.५३ प्रतिशत (२६ हजार ८८८ जना) परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

प्रदेशगत नतिजाको विश्लेषण गर्दा सबैभन्दा कमजोर अवस्था मधेस प्रदेशमा देखिएको छ, जहाँ जम्मा २२.१९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् भने करिब ७८ प्रतिशत उम्मेदवार असफल भएका छन् । तुलनात्मक रूपमा अगाडि रहेका बागमती प्रदेशमा ३८.३७ प्रतिशत (४ हजार ६०२ सहभागीमध्ये १ हजार ७६६ उत्तीर्ण) र गण्डकी प्रदेशमा ३३.९३ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

सहभागिताका हिसाबले सबैभन्दा बढी ९ हजार १४७ जना उम्मेदवार रहेको कोशी प्रदेश र सबैभन्दा कम २ हजार ३५१ जना सहभागी रहेको सुदूरपश्चिम प्रदेश दुवैमा असफल हुनेको दर उच्च रहेको आयोगको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

मध्यनेपालमा करदाता सेवा प्रणाली शुरु।

६


TOP