बिनामारे (बागलुङ), कात्तिक ९ ।
संघीय सांसद सुशील खड्काले पहाडी क्षेत्रबाट भइरहेको बसाइँसराइ न्यूनीकरण गरी नागरिकलाई गाउँमै फर्कने वातावरण निर्माण गर्न मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’को आधार बनाउने बताउनुभएको छ ।

सोमबार जैमिनी नगरपालिका–५,बिनामारेस्थित वडा कार्यालयमा जनप्रतिनिधि तथा स्थानीयवासीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद खड्काले बिनामारेका विकास निर्माणसम्बन्धी मागलाई संघीय सरकारको प्राथमिकतामा पार्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
उहाँले मध्यपहाडी लोकमार्ग र यसका सहायक मार्ग आसपास आर्थिक गतिविधि विस्तार गरी गाउँमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण र पूर्वाधार विकासमार्फत पहाडी क्षेत्रमा बसोबास गर्ने आधार बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सांसद खड्काले संघीय सरकारको विकास दृष्टिकोण, सुशासन र आगामी योजनाबारे पनि जानकारी गराउनुभएको थियो । उहाँले भ्रष्टाचार न्यूनीकरण, पारदर्शिता र परिणाममुखी कामलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रका आवश्यकता सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
“स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । यहाँका जनप्रतिनिधि र जनताले भोगेका समस्यालाई सिंहदरबार र संघीय संसद्मा पुर्याउनु मेरो मुख्य दायित्व हो,” सांसद खड्काले भन्नुभयो ।
उहाँले सडक, खानेपानी, कृषि, पर्यटनलगायत पूर्वाधार विकासका योजनामा स्थानीयका माग सम्बोधन गर्न सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो । विकासमा बाधक बनेका कानुनी जटिलता हटाउने तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका विषयमा पनि आवश्यक पहल गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा वडा अध्यक्ष ठगबहादुर क्षेत्री थापाले स्थानीय तहको सीमित बजेटबाट ठूला पूर्वाधार आयोजना सञ्चालन गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै जैमिनी नगरपालिकाका विभिन्न विकास योजनाका लागि संघीय बजेट विनियोजन गर्न पहल गरिदिन आग्रह गर्नुभयो ।
अध्यक्ष थापाले जैमिनी–रिठेडाँडा, माइकाथान र हाँडिकोट सडकको स्तरोन्नति, कुश्मीशेरा–बिनामारे सडक कालोपत्रे तथा कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्गको स्तरोन्नतिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । रिठेडाँडालगायत जैमिनीका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास र प्रवर्द्धन, उच्च बस्तीमा लिफ्टिङ खानेपानी आयोजना सञ्चालन तथा उर्वर फाँटमा सिँचाइ सुविधा विस्तार गर्नुपर्ने माग पनि उहाँले राख्नुभयो ।
त्यसैगरी, जैमिनी नगरपालिका–५ मा बहुस्तरीय खेलमैदान निर्माण, बिनामारे स्वास्थ्य चौकीको भवन निर्माण तथा वडा कार्यालय भवनमा तला थप गरी आवश्यक भौतिक पूर्वाधार विस्तार गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
अन्तरक्रियामा स्थानीयवासीले बाँदर तथा अन्य वन्यजन्तुबाट खेतीपातीमा भइरहेको क्षति न्यूनीकरण गर्न नीतिगत र दीर्घकालीन समाधान खोज्नुपर्ने माग राखेका थिए । उनीहरूले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधार, स्वास्थ्य चौकीमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था, पहिरो नियन्त्रण तथा भरपर्दो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्नुपर्ने विषयसमेत उठाएका थिए ।
वडा अध्यक्ष ठगबहादुर क्षेत्री थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षक, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति थियो ।





