गाउँपालिका अध्यक्षको हस्ताक्षरमै व्यक्तिलाई ‘विष्णुको अवतार’ घोषणा, सरकारी लेटरप्याडको पत्र भाइरल!
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको आधिकारिक लेटरप्याड प्रयोग गरी एक व्यक्तिलाई ‘विष्णु भगवान्को अवतार’ का रूपमा प्रमाणित गरिएको सिफारिस पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र बहस र खैलाबैला मच्चिएको छ।
सामाजिक सञ्जालमा भाइरल बनेको उक्त पत्रमा तमानखोला गाउँपालिका–१, हिजा निवासी पुन्टे कामीका छोरा जस बहादुर कामीलाई ‘श्री विष्णु भगवान्को अवतारको रूपमा ज्ञान प्राप्त भएको’ व्यहोरा उल्लेख गरी सिफारिस गरिएको देखिन्छ। सरकारी लेटरप्याड, चलानी नम्बर र गाउँपालिका अध्यक्ष जोकलाल बुढाको हस्ताक्षरसहित यस्तो पत्र बाहिरिएपछि नागरिकहरू आश्चर्यमा परेका छन्।

सरकारी निकायले नागरिकका लागि जन्म, मृत्यु, नाता प्रमाणित वा विकास निर्माणका कार्य सिफारिस गर्नुपर्नेमा ‘भगवान्’ प्रमाणित गर्न थालेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कडा आलोचना गरेका छन्। कतिपयले यसलाई प्रशासनिक मर्यादाको चरम लापरबाही र अन्धविश्वासलाई बढावा दिने कार्य भनेका छन् भने कतिपयले सरकारी लेटरप्याड तथा हस्ताक्षरको दुरुपयोग गरी कसैले ठट्टा गरेको हुनसक्ने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

उक्त पत्र साँच्चिकै गाउँपालिकाबाट जारी गरिएको हो वा कसैले लेटरप्याडको दुरुपयोग गरी तयार पारेको हो भन्ने विषयमा गाउँपालिकाको कुनै आधिकारिक स्पष्टीकरण आइसकेको छैन। यस विषयमा थप जानकारी लिन गाउँपालिका अध्यक्ष जोकलाल बुढासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।










