काठमाडौँ, २६ कात्तिक । कप्तान सन्दीप लामिछानेको कीर्तिमानी ह्याट्रिकसहित ६ विकेटको घातक बलिङ प्रदर्शनको मद्दतमा विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ प्रवेशको सम्भावना जीवितै राखेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको १३३ रनको मध्यम लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। यो महत्त्वपूर्ण जितसँगै ६ खेलबाट ६ अङ्क जोडेको विराटनगरले प्लेअफको दौडमा आफ्नो दाबेदारी कायमै राखेको हो। यता, प्रतियोगिताबाट बाहिरिइसकेको पोखराको भने लगातार दोस्रो जित निकाल्ने लक्ष्य पूरा हुन सकेन।
१३३ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका लागि बसिर अहमद र लोकेश बमले महत्त्वपूर्ण योगदान दिए। बसिरले ३९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन बनाए भने लोकेशले ३३ रन जोडे। बलिङतर्फ पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २-२ तथा विपिन खत्री र धनञ्जय लक्षणले समान १-१ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
सन्दीपको टी–२० करियरकै उत्कृष्ट बलिङ र ह्याट्रिक
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्स सन्दीपको फिरकीसामु टिक्न नसक्दा १७.५ ओभरमा १३२ रनमै अलआउट भयो। सन्दीपले आफ्नो ४ ओभरको स्पेलमा मात्र २७ रन खर्चेर ६ विकेट चट्काए। टी–२० करियरमै पहिलोपटक एकै इनिङ्समा ६ विकेट लिएका सन्दीपको एनपीएलमा यो पहिलो ह्याट्रिकसमेत हो। यसअघि साहब आलम, रोहित पौडेल र प्रतिश जिसीले ह्याट्रिक पूरा गरेका थिए।
खेलको १५औँ ओभरमा सन्दीपले जादुमयी बलिङ गर्दै लगातार तीन बलमा तीन विकेट लिए। उनले ओभरको तेस्रो बलमा क्रिजमा जमिरहेका युवराज सामरालाई आउट गरे भने चौथो बलमा चमिका करुणारत्ने र पाँचौँ बलमा किरण ठगुन्नालाई पेभिलियन पठाउँदै ह्याट्रिक पूरा गरे। त्यसअघि सन्दीपले सातौँ ओभरको दोस्रो बलमा अर्जुन घर्ती र एघारौँ ओभरको दोस्रो बलमा सन्नी बीकेलाई शिकार बनाएका थिए। विराटनगरका लागि रुपेश सिंहले १ विकेट लिए।
युवराजको विष्फोटक इनिङ्स खेर गयो
सुरुवातदेखि नै निरन्तर विकेट गुमाएको पोखरा एक समय ७६ रनमा ५ विकेट गुमाएर दबाबमा परेको थियो। तर, ओपनर युवराज सामराले एकल संघर्ष गर्दै ४७ बलमा ७ चौका र ५ गगनचुम्बी छक्काको मद्दतमा ८४ रनको विष्फोटक इनिङ्स खेले। पोखराका लागि सामराबाहेक रमेश मेन्डिसले २२ र सन्नी बीकेले १२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन्।




