काठमाडौं । पछिल्लो ३० घण्टादेखिको निरन्तर वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ प्रभावित भएको छ। वर्षाका कारण आजका लागि तय गरिएका दुवै खेल सञ्चालन हुने सम्भावना न्यून देखिएको छ।
काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा कभरले पिच ढाकिए पनि लामो समयको वर्षाले मैदानमा पानी जमेको छ। मैदानबाहिर पारापिटतर्फबाट आएको पानीसमेत जमेकाले खेल सञ्चालनका लागि मैदान तयार गर्न कठिन भएको छ।
आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुने तालिका छ। तर, वर्षा नरोकिएकाले मैदान तत्काल खेल्नयोग्य बनाउने अवस्था छैन। खेल रद्द हुने सम्भावना देखिए पनि नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन।
क्यानका सचिव पारस खड्काले पनि खेल हुने सम्भावना न्यून रहेको बताएका छन्। उनले प्राविधिक अवस्थाका कारण तत्कालै खेलबारे निश्चित निर्णय गर्न नसकिने उल्लेख गर्दै खेल सञ्चालनको सम्भावना कम रहेको बताए।





