अभिशप्त नठान जिन्दगी
जिन्दगी फूल जस्तै फुलि रहेछ
तिमी काँडाको प्रश्नै नउठाउ
काँडाकै बिचमा फुलिरहेछन फूलहरु
मुसुक्क मुस्कुराउँदै ।
मलाई पुतलीको उडान मन पर्छ
मन पर्छ चराहरुको चिरबिर पनि
खोलाहरु बगिरहेछन संगीतमय तालमा
कोइली वसन्तको गीत गाउँछे
वसन्त सैलुङमा नाचि दिन्छे ।
म बगाउँदिन आँसु
मैले पीडा पचाइ सकें
दुःखको समुद्र पार गरी
सुखको चौतारीमा थकाइ मार्दै
मैले भुलि सकें जीवनका गोताहरु ।
मलाई हिड्न देउ चौडा मूलबाटो
मलाई गाउँन देउ पहाडको गीत
म हिमाल संग जिस्कन्छु
घाम संग खेल्दै
गोधुली संग रमाउँछु ।
म जून संग लुकामारी खेल्छु
ताराहरु म संग जिस्कन्छन
मेरो मन आकाश तिर बेगिन्छ
धरतीलाई सिंचित गर्दै
म मेरा पाखुरी बजाउँछु ।
म हारिन जिन्दगी संग
मलाई हार्नेहरुको कहानी नसुनाउ
मेरा कदम गतिहीन छैनन
मैले जितेको छु मुक्ति युद्ध
गाएको छु मुक्ति गीत
र बजाएको छु विजयको तबला ।
मलाई गिद्धे नजर लाउनेहरु
चढिरहेछन असफलताको लिस्नो
मेरो यात्रामा अवरोध हाल्नेहरु
आफै गन्तव्यहीन भै सकें
तिम्रो श्राप लाग्ने छैन मलाई
मैले त गन्तव्य चुमि सकें ।
म उक्लदै छु सफलताको शिखर
ठेस लागे पनि
तिनीहरु मेरो खुट्टा तान्छन
म आवेगमा नआई
शिखर उक्लि रहन्छु
तिनीहरु लाचार भै भुइँमा ढल्छन ।
आमा गर्वले छाती फुलाउँछिन
मेरो जितको कथा पढे पछि
म कपुत बनिनँ
मैले रुवाइन आमा
आमा मलाई दीर्घायूको आशीर्वाद दिन्छिन
मेरो यात्रामा समाहित हुँदै
म पुलकित भएको छु
यात्रामा म संग संगै आमा भेटे पछि ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ





