शनिबार , कार्तिक १५, २०८३

लेखक बन्नु केवल शब्द लेख्नु होइन, विचार र विवेकको जिम्मेवारी बोक्नु पनि हो। साहित्यमा देखिएका चाकरी, गुटबन्दी, पुरस्कार मोह र आत्मप्रचारजस्ता प्रवृत्तिमाथि वरिष्ठ लेखक खगेन्द्र सङ्ग्रौलाले व्यङ्ग्यात्मक शैलीमा चोटिलो टिप्पणी गरेका छन्। लेखक बन्न चाहनेहरूलाई सोच्न बाध्य पार्ने उनका यी आठ सुझाव लेखकीय स्वतन्त्रता र इमानदारीका दृष्टिले पठनीय छन्। (साभार : रातोपाटी)

१. गजल नलेख्नू । किनभने गिनीपिगको विविधतारहित बगालको अरूचिकर सम्झना गराउने प्रायः सबै उस्तै र सधैं उस्तै गजलहरुको भारमुनि पाठक निस्सासिएको छ । भो काजी, अबलाई पुग्यो । तथापि गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुङ्गो देखे जम्मा एउटा गजल लेख्नू ।

आजीवन स्वर हल्लाउन र हाटहुटे थपडीको स्वागत पाउन एउटै गजल मनग्ये हुन्छ । दसमध्ये नौ ओटा गजल पहिलो गजल जस्तै हुनु भनेको आफ्नो र आफ्ना पाठकश्रोताको एकबारको जुनीका ससाना नौ किस्ता आयु खाइदिनु हो । गजलको नाउँमा यो आयुभक्षण कुनै काव्यात्मक पुण्यकर्म होइन ।

२.  साहित्यका कित्तावाल अमिनहरुका एकाङ्गी र हठाग्रही फैसलाबाट आतङ्कित नहुनू । यी कित्तावाल अमिनहरुलाई चल्तीको भाषामा सौन्दर्यविद् वा साहित्यसमीक्षक भनिन्छ । यी ज्ञानीहरु लेखक र उसको कृतिको क्षेत्रफल नाप्न हातहातमा शास्त्रका कित्ता बोकेर हिँड्छन् । यी स्रेस्ता खडा गर्छन् । र अब्बल, दोयम, सिम र चाहार भनी लेखक र तिनका कृतिको कोटिको किटानी गर्छन् ।

दुरुह जार्गनहरूको जालो बुन्दै यी आफूले मात्र बुझ्ने वा आफैँले पनि नबुझ्ने गाँठा परेको भाषा लेख्छन्। यी जानकारहरू जग्गा नाप्ने अमिनले झैँ लेखक र कृतिको अस्तित्वका चार किल्ला नाप्छन्। र यहाँदेखि त्यहाँसम्म पूर्वआधुनिक, त्यहाँदेखि त्यहाँसम्म आधुनिक र त्यहाँदेखि उः त्यहाँसम्म उत्तरआधुनिक भनेर रेखाङ्कन र सीमाङ्कन गर्छन्। र यो क्रान्तिकारी, त्यो परको संशोधनवादी, त्यो उताको भ्रष्टीकरणवादी आदिआदि भनेर कर्मकाण्डी पुरेतले झैँ लेखक र उसको कृतिको न्वारान गर्छन्। यिनको मापन, सीमाङ्कन र न्वारानमा लेखक र उसको कृतिका सबै बहुकालिक, बहुआयामिक र जटिल पक्ष तथा चिन्तन र सिर्जनाका सूक्ष्म आरोहअवरोह प्रायः समेटिँदैनन्।

तसर्थ यी शास्त्रीय अमिनहरूका कुरा पत्याउनुअघि बाह्र पटक विचार गर्नू। समाजबोध र कलाचेतप्रति सतत अन्वेषणशील र सजग रहनू। उत्तम कुरा, यी अमिनहरूका फैसला एक कानले सुनेर अर्को कानले उडाइदिनू। नत्र क्लिष्ट जार्गनहरूको चाङमुनि पुरेर यिनले लेखकलाई कुहिराको काग बनाउँछन्। प्राडाको चोरऔँलो समातेर टुकुटुकु हिँड्न मन गर्ने लेखक साधनाको यात्रामा कतै पुग्दैन। साहित्यको वास्तविक न्यायाधीश प्राडा होइन, पाठक हो। पाठकका आँखाको भाखाको सदैव ख्याल गरौँ, प्राडाहरूबाट साहित्यलाई बचाऔँ।

३. कविगोष्ठीमा प्राडाका छिपछिपे र भुइँफुट्टा मन्तव्य नसुन्नू। गोष्ठीहरूमा अति ग्रहणशील प्राडाहरू एउटै सुनाइबाट कविताको मूल्य निरूपण गरी फटाफट मन्तव्य जारी गर्छन्। साँच्चिकै कविता भनेको वक्तृत्वकलाको स्थूल वक्तव्यजस्तो तत्क्षण मूल्य निरूपण गर्न सकिने चिज होइन। यसको अर्थका अनेक पत्र, आयाम र कोण हुन सक्छन्। तसर्थ कविगोष्ठीमा प्राडाका छिपछिपे र भुइँफुट्टा मन्तव्य नसुन्नू। भ्रमित भइन्छ।

४. कृतिमा भूमिका नलेखाउनू। भूमिका भनेको आफ्नो सिर्जनशील सामर्थ्यप्रति आफैँमा विश्वास नहुँदा टेकेर उभिन अरूबाट याचना गरिने बैसाखी हो। साह्रै गाह्रो परे एउटासम्म भूमिकारूपी बैसाखी टेक्नू। कृतिमा तीनचारवटा भूमिका टाँस्नु भनेको लेखकले उभिन तीनचारवटा बैसाखी टेक्नु हो। दीनदुःखी लेखकको बडो हास्यास्पद दशा हो यो।

५. शासक वा रोलवाला शासकका ‘बाहुली’बाट कृतिको विमोचन कदापि नगराउनू। तिनका ‘बाहुली’बाट विमोचन गराउनुको अर्थ तिनका सन्दिग्ध छविको छायामा आफ्नो आत्महीन अनुहार देखाउन रहर गर्नु हो। यो लेखकको चाकरीमुखी, पराश्रयी र आत्मसमर्पणकारी प्रवृत्तिको द्योतक हो।

गद्दीवाल शासक वा रोलवाला शासकका चरणमा साहित्यको स्वतन्त्रता र स्वायत्ततालाई घुँडा टेकाउँदा लेखकीय विवेक र अभिव्यक्ति स्वतन्त्रताको हत्या हुन्छ। अनि लेख्नलाई लेखकसँग के बाँकी रहन्छ? सत्ताको अनालोचनात्मक निकटता र शासकप्रतिको नजानिँदो भक्तिले लेखकलाई चालै नपाई तिनको भजनमार्गी भाट बनाउँछ। एकबारको जुनीमा भाट लेखक बन्नु पनि के बन्नु?

६. बेस्ट सेलर भनिने पुस्तक गुणवत्तामा बेस्ट नै हुन्छ भनी आँखा चिम्लेर नपत्याउनू। प्रायः यस्तो बेस्ट सेलरमा अतिरञ्जित विज्ञापन र व्यापारिक स्वार्थको मायावी लेप लगाइएको हुन्छ।

पाठकका हातमा पुग्ने माध्यम भए चित्ताकर्षक आवरण र सुन्दर मुद्रण भएको साहित्यको राम्रो पुस्तक धेरथोर अवश्यै बिक्छ। तर केवल बिक्री सङ्ख्या पुस्तकको श्रेष्ठताको नापो होइन। अचेल प्रतिस्पर्धाको बजारमा आफ्नो मालमा आफ्नै हातले अब्बल दर्जाको छाप ठोक्ने अभिप्रायले मेरो यति र उति बिक्यो भनी कतिपय प्रकाशकले ढाँट्न थालेको छनक पाइन्छ। यस्ता ढाँटहरूको भ्रान्तिकारी छलबाट नबहकिनू।

७. पुरस्कारको लालसाले लेखक बन्न नखोज्नू। लेखक भएर पुरस्कृत हुनु नराम्रो होइन। तर कसैको कृपाबाट पुरस्कृत भएर लेखक भएको अभिनय गर्नु खतरनाक कुरा हो।

कतैका कसैको पुरस्कार आइलाग्दा पुरस्कृत गर्न खोजिएको केलाई हो भनी सोच्नू। पुरस्कृत गर्न खोजिएको पुस्तकको गुणवत्तालाई हो कि जीहजुरीलाई हो? पुस्तकमाथि सवार गराइएको अतिरञ्जित विज्ञापनबाजीलाई हो कि कुल, वंश, लिङ्ग वा अन्य कुनै नाता वा स्वार्थलाई हो? पुरस्कृत भएर मात्र अब्बल लेखक भइँदैन। लेखक भएर भइन्छ।

८. गनगन गर्न र रुन लेखक नबन्नू। मैले भाषासाहित्यको उत्पात सेवा गरेँ तर म जस्तो राष्ट्रको अनमोल मणिको उचित कदर भएन भनी गनगन गर्ने र रुनेको यहाँ कमी छैन।

कसैलाई पनि समाज वा राष्ट्रले भाषासाहित्यको सेवाबापत पछि मेवा टक्र्याउला भनेर भर्ती गरेको हुँदैन। लेखक बन्नु स्वैच्छिक कर्म हो। व्यक्तिको नितान्त निजी रुचि र रोजाइको कुरा हो यो। गनगन र रोदनको बासी पथको पथिक हुनुभन्दा त बरु लेखक नहुनु नै बेस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

२

अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।

३

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

४

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

५

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

६


TOP