भोर्लेटार (लमजुङ) – आदिकवि भानुभक्तको मावली गाउँका रूपमा भोर्लेटारलाई पहिचान गराउने उद्देश्यले आज मिति २०८३ असोज २५ गते मध्यनेपाल नगरपालिका भोर्लेटारमा भेलाको आयोजना गरेको छ । उक्त भेलाले भानुभक्त स्मृति प्रतिष्ठान नामक संस्था दर्ता गर्नका लागि ९ सदस्यीय तदर्थ समिति र ४ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । सामाजिक एवम् शैक्षिक व्यक्तित्व रामकृष्ण घिमिरेको अध्यक्षतामा गठित तदर्थ समितिमा उपाध्यक्ष रामभक्त पौडेल, सचिव रामकृष्ण घिमिरे (पूर्व प्रअ) र कोषाध्यक्ष प्रतीक्षा सुवेदी पौडेल तथा सदस्यहरूमा युवराज पौडेल, बाबुराम पौडेल, दयाराम खनाल, विष्णुमाया पौडेल तथा सन्ध्या पौडेल रहनुभएको छ भने विधान मस्यौदा समितिमा संयोजक मोहनहरि पौडेल तथा सदस्यहरूमा रमेशचन्द्र घिमिरे, मोहनराज घिमिरे र रमेश लामिछाने रहनु भएको छ ।
भेलाको रामकृष्ण घिमिरे (पूर्व शिक्षक) ले अध्यक्षता गर्नुभएको थियो भने पूर्व प्रअ रामकृष्ण घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गर्नुभएको थियो। भानुभक्तसँग भोर्लेटारको सम्बन्धका साथै भानुभक्तको साहित्यिक योगदानका बारेमा रामभक्त पौडेलले चर्चा गर्नुभएको थियो । मोहनहरि पौडेलले भोर्लेटारको पहिचान र अस्तित्व गुम्न नदिनका लागि संस्था स्थापना गर्नु अनिवार्य रहेको अभिव्यक्ति दिनु भएको थियो भने वसन्तराज घिमिरेले भानुभक्तलाई हाम्रा गौरवका रूपमा प्रचार प्रसार गर्न आवश्यक रहेको तथ्य प्रस्तुत गर्नु भएको थियो । भेलामा रामचन्द्र पौडेलले उपयुक्त ठाउँको खोजी गरी भानुभक्तको सालिक बनाउने तथा पार्क निर्माण गर्ने कुरामा जोड दिनु भएको थियो । उपस्थित सहभागीहरूमध्ये गोपाल लामिछाने, युवराज पौडेल, पुण्यप्रसाद पौडेल, कृष्णभक्त पौडेल, देवहरि पौडेल, मोहनराज घिमिरे, बद्रीप्रसाद पौडेल, मुक्तिमणि पौडेल, कोपिला परियार, आनन्द पौडेल, बाबुराम पौडेल लगायतका वक्ताले आ-आफ्नो तर्क राखेका थिए भने कार्यक्रमको सहजीकरण रमेशचन्द्र घिमिरेले गर्नुभएको थियो । भेलाले प्रत्येक वर्षको असार २९ गते भानुजयन्तीका अवसरमा साहित्यिक तथा भानु स्मृति कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।






