म तिम्रो छोरालाई प्रेम गर्छु
आरती आचार्य

हुन सक्छ त्यो एक मातृत्व जस्तो होस्
हुन सक्छ त्यो एक मित्रता जस्तो होस्
या हुन सक्छ त्यो एक अनुराग जस्तो होस्
छोडी गएको नदीलाई कैयाैँ बर्खा कुरिरहने
झरी गएका पत्रहरूलाई कैयाैँ महिना पर्खिरहने
हुन सक्छ त्यो एक बगर जस्तो होस्
या हुन सक्छ त्यो एक शिशिर जस्तो होस्
जेसुकै होस् जस्तो होस् म तिम्रो छोरालाई प्रेम गर्छु
मैले बोकिन होला आफ्नै शरिरको अंश जसरी
मैले जन्माइन होला आफ्नै
अस्तित्वको पूनर्जन्म जसरी
तर के मैले हुर्काएकी छैन उसलाई
प्रेमका हरेक बुँदहरूले सिञ्चिएर ?
तर के मैले बचाएकी छैन उसलाई
स्पर्शको न्यानोपनले छोपिरहेर ?
हुन सक्थ्यो
ऊ एक कठ्याङ्ग्रिँदो हिउँद हुन सक्थ्यो
उ एक मृतोपजिवी च्याउ हुन सक्थ्यो
फूलहरूलाई घृणा गरिरहेको
पाइतालाहरूलाई दुश्मनी साँधिरहेको
हुन सक्थ्यो ऊ एक बञ्जर जमिन हुनसक्थ्यो
म सायद जान्दिनँ कति मुस्किल हुन्छ
प्रसव बेदना झेल्नु
एक रगतको ढिक्कोलाई
हुर्काएर संसार देखाउनु
तर सायद जान्दछु कति मुस्किल हुन्छ
एक पुरुषलाई मान्छे बनाउनु
हजाराैँ अव्यक्त आघातहरूको थुप्रोमुनि
एक सग्लो जीवन भेट्याउनु
म माग्दिनँ कुनै हक तिम्रो ममताको पछ्याैरी च्यातेर
म साँध्दिन कुनै पूर्वाग्रह तिम्रो करूणाको तुलना गरेर
ममता, करूणा, त्याग वा समर्पणभन्दा पर
हुनसक्छ त्यो एक आशा जस्तो होस्
हुनसक्छ त्यो एक उषा जस्तो होस्
या हुन सक्छ त्यो एक ज्योति जस्तो होस्
खरानीको थुप्रोहरूबाट पनि ब्युँतिन सक्ने
निराशाको घोर बादलहरूको जगबाट पनि जाग्न सक्ने
हुनसक्छ त्यो एक फिनिक्स जस्तो होस्
या हुनसक्छ त्यो एक क्रान्ति जस्तो होस्
जेसुकै होस् जस्तो होस् म तिम्रो छोरालाई प्रेम गर्छु।।
(पुनश्च: कविताको शिर्षक मोहन कोइरालाको म तिम्री छोरीलाई प्रेम गर्छुबाट प्रभावित छ। )





