स्याङ्जा, १८ असोज ।नेपाली साहित्य, भाषा, वाङ्मय तथा लोकसंस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका अग्रज स्रष्टा देवीप्रसाद वनवासीलाई पहिलो ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०८३’ प्रदान गरिएको छ।
स्याङ्जाको वालिङ नगरपालिका–१३, त्रियासी, शङ्खरेडाँडामा वि.सं. १९९७ कार्तिक २७ गते जन्मनुभएका वनवासीले वि.सं. २०२० जेठमा ‘माछापुच्छ्रेको काख’ शीर्षकको झ्याउरे लयमा लेखिएका कवितासङ्ग्रह प्रकाशन गर्दै साहित्यिक यात्रा प्रारम्भ गर्नुभएको थियो। लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा सक्रिय उहाँलाई साहित्यिक योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो।

करादीखोलास्थित उपाध्याय निवासमा आज दिउँसो आयोजित एक अनौपचारिक समारोहबीच वनवासीलाई पुरस्कार समर्पण गरिएको हो। पुरस्कारको राशि रु. ११ हजार १११ रहेको छ।
स्वर्गीय **पोतप्रसाद उपाध्याय, पवित्रादेवी उपाध्याय र चेतनारायण उपाध्याय ‘प्रवीण’**को स्मृतिमा कमला–ज्ञानप्रसाद उपाध्यायको परिवारले स्थापना गरेको ‘पोतपवित्रा–प्रवीण स्मृति पुरस्कार कोष’ मार्फत उक्त पुरस्कार प्रदान गर्न थालिएको हो। कोषको स्थापना वि.सं. २०८१ मा गरिएको हो।
नेपाली भाषा, वाङ्मय र लोकसंस्कृतिको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका सिर्जनशील अग्रज तथा युवा स्रष्टालाई प्रत्येक वर्ष विशेष साहित्यिक समारोह आयोजना गरी आलोपालो सम्मान तथा पुरस्कृत गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको परिवारले जनाएको छ।
पुरस्कार कोषका संस्थापक रामचन्द्र उपाध्यायका अनुसार पुरस्कारको राशि प्रत्येक वर्ष क्रमशः वृद्धि गरिनेछ। पहिलो वर्ष रु. ११ हजार १११, दोस्रो वर्ष रु. १२ हजार २१२ र तेस्रो वर्ष रु. १३ हजार ३१३ प्रदान गरिनेछ। त्यसपछि पनि यही क्रमअनुसार पुरस्कार राशि बढाउँदै लगिनेछ।
साहित्य तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई सम्मान गर्दै नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा प्रेरित गर्ने उद्देश्यले स्थापना गरिएको यस पुरस्कारले नेपाली साहित्यमा अग्रज तथा युवा पुस्ताबीचको सम्बन्धलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।





